काठमाडाैं- सडकमै रात काट्ने, ढलमा फालेको फोहोर खना खाएर छाक टार्ने मखमली तमाङका केहि समय अघिका दिन कहाली लाग्दा थिए।
घाम, पानी, हावा हुरी झरीको प्रवाह नगरी सडकमै कठिन र संघर्ष पूर्ण जीवन विताउनु पर्दैथ्यो। राजधानीको भिडभाडमा वास्ता गर्ने कोहि थिएन।
श्रीमानले अर्की श्रीमति बिहे गरि छाडेपछि विछिप्त बनेर हिड्नु भएकी मकवानपुरकी तामाङलाई अहिले भरपर्दो आश्रय मिलेको छ।
नवजीवन परोपकार समाजले उहाँजस्ता धेरै सहाराविहिनहरुलाई सहारा दिँदै आएको छ। समाजले तार्केश्वर नगरपालिका वडा नं.७ फुटुङमा सञ्चालन गरेको आश्रममा अहिले १५ जनाले आश्रय पाएका छन्।
पीडादायि जीवनबाट ग्रसित बनि मृत्यु रोज्ने अवस्थामा पुगेका समेतको यहाँ आएपछि जीवन फेरिने गरेको छ।
“यहाँ सम्म आउन पाउँला भनेर कल्पना सम्म पनि गरेकी थिइँन” उहाँले भन्नुभयो, “भगवानको नजर म भएको ठाउँमा पुग्यो, मलाई उद्धार गर्ने भगवान समान हुनुहुन्छ।”
धुँवा, धुलो कोलाहल पूर्ण काठमाडौँको वातावरण, व्यस्त सडकमा भौतारिएर जीवन काटेकी मखमलीले अहिले शान्त मनोरम वातावरणमा रहेको आश्रममा आश्रय लिइरहनु भएको छ। यहाँ फूल र तरकारी खेती गरिएको छ।
आश्रम तरकारीमा आत्मनिर्भर छ भने फूल बाहिर बिक्री गर्ने गरिएको छ।
झकमक्क फुलेका थुङ्गे फूल, लटरम्म फलेका टमाटर, फुलेर सेत्तै देखिने फूलगोवी, यि सबैले गर्दा सौन्दर्य थपिएको छ।
यहाँ परिवारबाट अपहेलित भएका, विछोडिएका, खाना बस्न र लगाउन नपाएकै कारण शारिरीक रुपमा अस्वस्थ र कमजोर भएकाहरुलाई सहारा दिइएको छ। केहिले मानसिक सन्तुलन गुमाएका छन्।
जस मध्येका हुनुहुन्छ पोखराका सुरज केसी। प्रेमिकाले धोका दिएपछि उहाँले मानसिक सन्तुलन गुमाउनुभयो ,अनि पुग्नुभयो सडकमा।
उहाँ बगैचामा फुल टिप्दै हुनुहुन्थ्यो । उहाँको चेहेरा फूल जत्तिकै उज्यालो देखिन्थ्यो। दृष्टिविहिन, अपाङ्ग असक्तहरु बाहेक सक्नेहरुले खन्ने, फूल लगाउने, तरकारी लगाउने, टिप्ने काम गर्छन।
वङ्गालादेशी नागरिक बताउने इकवाल आलमलाई कपनमा होमपाइपबाट उद्धार गरि आश्रममा राखिएको छ। समाजका अध्यक्ष दुर्गानाथ दाहालले आश्रममा ल्याइसकेपछि परिवारको खोजी गरि पुर्नमिलन गराइदिने कार्यमा पनि जुटने बताउनुभयो।
उहाँले भारतसम्म पुगेर पनि पुर्नमिलन गराउन सफल रहेको सुनाउनुभयो।
उहाँले यस वर्ष करिव डेढ लाखको फूल बिक्री गरेको बताउनुभयो, “तिहारमा मात्रै फूल खेती गर्ने चलन छ” उहाँले भन्नुभयो, “फूलको माग अत्यधिक छ, अबदेखि बाह्रैमास फूल खेती गर्ने योजनामा छौँ ।” उहाँले मनोरोगीहरु फूलको वगैचा देख्दा निकै खुसी हुने गरेको बताउनुभयो।
फूलखेती गर्दा धेरै तिरबाट फाइदा हुने हुँदा यो खेती गर्न थालिएको बताउनुभयो । “उत्पादन मूलक कामसँग जोडिएर धेरै बस्तुमा आत्मनिर्भर बन्ने योजना छ” उहाँले भन्नुभयो, “हामी सहयोग लिने मात्र नभएर अरुलाई सहयोग स्वरुप दिने गरि उत्पादनका काममा लागिरहेका छौँ।”
आश्रममा मजदुरी गर्न नसकेर सडकमा अलपत्र परेकालाई पनि राखिएको छ । धेरै घरधनीले मजदुरलाई कोठा नदिने र भाडा महङ्गो हुँदा कोठा लिन नसक्ने हुँदा मजदुरको सडको बास हुने गरेको बताउनुभयो । दाहालले विभिन्न दाताले दिएको सहयोगबाट आश्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । “सरकारबाट कुनै सुविधिा पाएका छैनौँ” उहाँले भन्नुभयो, “विदेशी सहयोग लिदैनौँ ।”
उहाँले कतिपय आश्रमहरु वन्दीगृह जस्तै हुने हुँदा बस्नेहरुलाई निकै समस्या पर्ने गरेको बताउनुभयो । “हाम्रो आश्रम खुल्ल्ला वातावरणमा हिडडुल गर्न सक्ने खालको खालको छ उहाँले भन्नुभयो, “फूल, तरकारी र विभिन्न खेतीले झनै आनन्द प्रदान गर्छ । ”
