नर्भिक अस्पतालद्वारा समाजसेवी दुर्गानाथ दाहालको निशुल्क उपचार

नर्भिक अन्तराष्ट्रिय अस्पतालले नवजीवन परोपकार समाजका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहाललाई निशुल्क उपचार गरिदिएको छ ।

भोटेकोशी बाढीपछि प्रभावित तथा विस्थापित नागरिकको व्यवस्थापनका आश्रममा बनिरहेको संरचना निर्माणका क्रममा लडेर घाईते बनेका दाहालको शल्यक्रिया गरिएको हो ।

गत १० गते भोटेकोशीमा आएको बाढीपछि विस्थापित बनेका नागरिकलाई नवजीवन आश्रममा ल्याएर सुरक्षित रूपमा राख्ने उद्देश्यले नयाँ संरचना निर्माणको काम भइरहेको थियो।

सोही क्रममा काममा खटिएका अध्यक्ष दाहाल लडेर घाइते भएका थिए। उनको खुट्टामा गम्भीर चोट लागेपछि अस्पतालमा भर्ना गरिएको थियो।

दाहालको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालले उनको खुट्टाको शल्यक्रियासहित सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

अस्पतालकी कार्यकारी निर्देशक मेघा चौधरीले मानव सेवामा लामो समयदेखि सक्रिय दाहालप्रति अस्पतालको तर्फबाट सहयोग र सद्भाव व्यक्त गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी लिने बताएकी छन्।
“हजुरले उपचारको कुनै पनि चिन्ता लिनु पर्दैन दाइ । सम्पूर्ण उपचार निशुल्क हुन्छ,” उनले भनिन् ।

बाढीपीडित तथा असहाय नागरिकका लागि आश्रयस्थल निर्माणमा जुटिरहेका दाहाल स्वयं घाइते भएपछि अस्पतालले देखाएको यो सहयोगलाई मानवीय सेवाको उदाहरणका रूपमा हेरिएको छ।

अरूको पीडामा साथ दिँदै आएका व्यक्तिको पीडामा अस्पताल आफैं सहारा बनेको छ। बिरामीको उपचारलाई केवल स्वास्थ्य सेवाका रूपमा नभई मानवीय दायित्वका रूपमा अघि बढाउँदै अस्पतालले दाहालको उपचारमा सहयोग गरेको हो।

अस्पतालकी कार्यकारी निर्देशक चौधरीको पहलमा गरिएको यो निःशुल्क उपचारले स्वास्थ्य संस्था केवल उपचार गर्ने ठाउँ मात्र नभई अप्ठ्यारोमा परेका नागरिकको साथ र भरोसाको केन्द्र पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ।

अस्पतालले विपन्न कैयौँ नागरिकलाई निशुल्क उपचार गरिदिएको छ ।