‘नवजीवन परोपकार समाज’को फूल खेती, आत्मनिर्भरको प्रयास

काठमाडौं- सामाजिक संस्था नवजीवन परोपकार संस्थाले यसै वर्षबाट आत्मनिर्भरको प्रयास सुरु गरेको छ। सामाजिक कार्यसंगै काठमाडौं तारकेश्वर नगरपालिका स्थित फुटुङ्मा रहेको संस्थाकै जग्गामा फूल खेतीबाट आत्मनिर्भरको प्रयास सुरु गरेको हो।

संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पछिल्ला वर्ष सामाजिक संस्था खुल्ने र अरुकै सहयोगमा चल्ने चलाउने प्रवृत्ती बढेको र यस्तो प्रवृत्तीमा कमि ल्याउने प्रयास स्वरुप संस्थाले यसप्रकारको कार्य प्रारम्भ गरेको हो।

हाल संस्थाले ४.५ रोपनी जग्गामा करिव ५० हजार लागतमा ४ हजार फूलको बेर्ना रोपेर फूल खेती सुरु गरको हो। उक्त लगानीले यसै वर्षको तिहारमा रु १ लाख ५० हजार देखी २ लाख सम्मको आम्दानी हुन सक्ने अध्यक्ष दाहालको भनाई छ।

सडक पेटीमा अलपत्र, असक्त असहाय आमा–बुबा तथा घाइते र विरामी प्राणीहरुको उपचारमा अहोरात्र काम गरिरहेको संस्था नवजीवन परोपकार समाजले फूल खेतीसँगै आँफूलाई आवश्यक तरकारी खेतीको पनि सुरुवात गरिसकेको छ। जुन कार्यमा संस्थामा बस्दै आउनु भएका बुबा आमा र अन्य दाजुभाई दिदीबिहिनीहरुले साथ दिइरहनु भएको छ।

तारकेश्वर फुटुङ निवासी बस्नेत परिवारले भवन निर्माणका लागि दिएको ६ रोपनी ५ आना जग्गामा देश तथा विदेशमा बस्नुहुने सहयोगी मनको सहयोगमा हालैमात्र संस्थाले एक भवन निमार्ण कार्य सम्पन्न गरेको छ।

उक्त जग्गामा संस्थाले आफ्नै भवन निर्माण पछि हाल १३ जना बृद्ध आमाबुबा तथा मानसिक र शारीरिक असक्त दाजुभाई दिदीबहिनीलाई आश्रय दिइरहेको छ।