काठमाडौं– नवजीवन परोपकार समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाच घरमा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरिएको हो।
सडकमा वेवारिसे वृद्ध आमा ‘माइली आमा’को प्रमुख आतिथ्यता, बिशेष अतिथी पूर्व डिआइजी रमेश खरेल, संस्थाका सद्भावना दूत नायक निखिल उप्रेति तथा विभिन्न क्षेत्रका धार्मीक र सामाजिक क्षेत्रमा आस्थावान व्यक्तिहरुको उपस्थितिमा संस्थाको साधारण सभा सम्पन्न गरियो।
संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुको सम्मान तथा सांस्कृतिक नृत्यहरुका साथ सम्पन्न कार्यक्रममा बिशेष अतिथि खरेल, सद्भावना दूत उप्रेती, संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए।

कार्यक्रममा संस्था खोल्नुको कारण, उदेश्य र यसले गर्दै आएका परोपकारी कार्यका विषयमा संस्थापक अध्यक्ष दुर्गानाथ दाहलले प्रष्ट्याएका थिए। उनले व्यक्तिगत रुपमा सामाजिक कार्यगर्दा परेका कठिनाई र भोगाईलाई स्मरण गर्दै त्यसबाट पाठ सिकेर संस्थागत रुपमा सामाजिक कार्यका लागि ‘नवजीवन परोपकार’ संस्थाको स्थापना हुन पुगेको जानकारी गराए। सडक पेटीमा वेवारिसे जीवन विताइरहेका तथा सहयोग र उद्धारको आवस्यकता परेकाहरुको आधारका रुपमा संस्था स्थापनाकालबाट आज सम्म अनवरत रुपमा कार्य भइरहेको र आउदा दिनमा पनि यस्तै परोपकारी कार्यमा संस्था क्रियाशिल रहने समेत दाहालले प्रष्ट पारे।
यस्तै कार्यक्रमा बोल्दै पूर्व डिआइजी खरेलले संस्थाले छोटो समयमा उल्लेख्य समाजिक कार्यहरु सम्पन्न गरि आफ्नो पहिचान बनाउन सफल भएकोमा बधाई तथा संस्थाका आगामी कार्यहरुका लागि समेत शुभकामना ब्यक्त गरे।

त्यसैगरि सद्भावना दूत उप्रेतिले कार्यक्रममा बोल्दै संस्थाले गरेका कार्यहरुबाट प्रभावित भई आफू पनि यस संस्थासँग आवद्ध रहेर सामाजिक सेवामा समर्पित भएको बताए। उनले भौतिक सुख र क्षणिक परिचयले मात्र सन्तुष्ट नभई सामाजिक सेवा र भावनाले आफुलाई आत्मिक सन्तुष्टि प्रदान गर्ने उल्लेख गर्दै सबैलाई सामाजिक कार्यमा समर्पीत हुन आग्रह गरे।
कार्यक्रममा अन्य अतिथिहरु,योग गुरु कंचन घिमिरे, संस्थाकी सद्भावना दूत सपना माता, सल्लाहकार आर्दश साहेब, मानव कल्याण समाजकी सञ्चालिका सुमित्रा चौलागाईंलगायतले बोल्दै संस्थाको कार्यको प्रशंसा र सामाजिक कार्यमा समर्पित हुन आग्रह गरे।
आफ्नो प्रथम बार्षीक उत्सव तथा साधारण सभाका उपलक्ष्यमा संस्थाको आजीवन सदस्य, विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्दै आएका ७० बढि व्यक्तिहरुलाई संस्थाले सम्मान समेत गरेको छ।
यस्तै कार्यक्रममा सहभागी ४० जना व्यक्तिहरुले मृत्यु पस्चात छाला, आँखा तथा शरिर दान समेत गरेका छन्। मृत्यु अघि र पछि सधै सामाजिक सेवामै समर्पीत हुने चाहानाका साथ आ–आफ्नो अंग दान गरेका दानकर्ताहरुले बताए।
