नवजीवनको पाँचौँ वार्षिकोत्सव : ‘नवजीवन एक चिनारी’ पुस्तक विमोचन तथा भवन शिलान्यास कार्यक्रम सम्पन्न

काठमाडौं । नवजीवन परोपकार समाजको पाँचौँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नवजीवन प्रांगणमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

संस्थाको वार्षिकोत्सवको अवसर पारेर ‘नवजीवन एक चिनारी’ नामक पुस्तक विमोचन गरिएको छ । त्यस्तै १०० शैयाका अपांगमैत्री जेष्ठ नागरिक भवन शिलान्यास गरिएको हो कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, विशिष्ट अतिथि पूर्वप्रधानन्यायाधिश सुशिला कार्की, नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले पुस्तक विमोचन तथा भवन शिलान्यास गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफ्नो क्षेत्रभित्र बनेको वृद्धआश्रमले गौरवान्वित सेवा गरेको बताए । उनले आश्रमलाई सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको पनि बताए । मेयर महर्जनका अनुसार आश्रमले सहाराविहीनहरुको सेवामा समर्पित भइ देश र राष्ट्रले गर्व गर्न लायक काम गरेको बताए । त्यस्तै पूर्व प्रधानन्यायाधिश कार्की आफुले सकेको सेवा आश्रम र वृद्धवद्धाहरुका लागि गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

आश्रमलाई सहयोग र सेवा गर्ने हेतुले नै नवजीवनको आजिवन सदस्यता ग्रहण गरेको पनि उनले बताइन । सम्बोधनका क्रममा संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले १०० शैयाको अस्पताल बनाउने आश्रमको लक्ष्य रहेको बताए । आफुहरुले गरिरहेको मानव कल्याणको कर्ममा हातेमालो गर्दै अघि बढ्न पनि अध्यक्ष दाहालले बताए ।

वार्षिकोत्सवकै क्रममा अध्यक्ष दाहालले मासुका लागि बेच्न राखिएका साढे ३ किलो माछा उद्धार गरी आश्रममा बनाइएको पोखरीमा छोडेका छन् । नवजीवनले विगत लामो समयदेखि मानवसेवा मात्रै नभइ प्राणी सेवा पनि गर्दै आएको छ । नवजीवनमा हाल ३२ जनाको परिवार आश्रित छ ।