नेपालमा वृद्धअवस्थामा घरपरिवारविहीनहरुको अवस्था :
जब हामी घरवारविहीनहरुको बारेमा सोच्छौं, त्यत्तिखेर तुरुन्तै हाम्रो ध्यान वृद्धवृद्धाहरुको बारेमा जा“दैन । घरवारविहीन वृद्धहरु , यद्यपि संख्यात्मक रुपमा बढिरहनुभएको छ , जसलाई बिर्सिएका मानव जातीको रुपमा लिन सकिन्छ ।
यसरी संख्यात्मक रुपमा बढिरहनुभएका वृद्धहरु गरिबी तथा विविध कारणले आज सडक तथा अन्य अस्वाभाविक स्थानहरुमा वृद्धावस्थाको जीवन बिताउन बाध्य हुनुहुन्छ । उहा“हरुको बारेमा विभिन्न निकाय तथा संघ संस्थाहरुबाट अनेकौं पटक अध्ययन तथा अनुसन्धान गरिएको छ । तर उहा“हरुको वास्तवीक आवश्यकतालाई बुमmी त्यसको परिपूर्ति गर्नेतर्फ न्युन चासो देखिन्छ । जे होस ५० तथा सो भन्दा बढी उमेरका मानवहरुलाई वृद्धको संज्ञा दिईएको छ । ५० तथा सो भन्दा बढी उमेर समुहका घरवारविहीन मानवहरुको उचित संरक्षण तथा औषधोपचारतर्फ राज्य सरकारको चासो पनि न्यून देखिएको छ । सरकारबाट उहा“हरुको व्यवस्थापनको लागी दिईने अनुदान सहयोग तथा बजेट पनि कुनै एकै संघ तथा संस्थातर्फ मात्र केन्द्रीकृत देखिएको छ । जसले गर्दा निस्वार्थ सेवाभावले यसै क्षेत्रमा सेवा प्रदान गरिराख्नुभएका अन्य संघ संस्थाहरु राज्य सरकारको उपेक्षाले गर्दा हतोत्साहित हुन पुग्ने सम्भावना देखिन्छ , जबकी मानव अधिकारको व्याख्या अनुसार यस सन्दर्भमा राज्य सरकारकै मूल दायित्व रहने कुरा प्रष्ट छ । उहा“हरुको नियमीत स्वास्थ्य अवस्था , पोषणयुक्त खानेकुरा , उचित तथा स्वच्छ स्थानमा बास ,लगाउने कपडाहरुको नियमीतताको पनि टडकारो रुपमा खा“चो रहेको छ । कमजोर शारीरिक अवस्था र अभावयुक्त जिवनशैलीले उहा“हरुको मानसिक अवस्था पनि कमजोर देखिएको छ ।
कारणहरु :
पारिवारीक कारण , चरम गरिबी , विमेल तथा राज्य सरकारको उपेक्षा आदि कारणले पनि यस उमेर समूहका मानवहरुको समस्या बढिरहेको छ । कमजोर आर्थिक अवस्था तथा खाना,कपडा ,औषधोपचारको समुचित उपलब्धता हुन नसक्दा पनि यो क्रम बढिरहेको छ । राज्य सरकारद्वारा निर्माण भएका नीति तथा कार्यक्रमहरुमा पनि उहा“हरुको सम्बन्धमा व्याख्या तथा सम्बोधन दहे रुपमा गरिएपनि कार्यान्वयनको पक्ष एकदम फितलो तथा कमजोर देखिन्छ ।
सम्भावना तथा निश्चितता :
यद्यपि ५० देखि ७० वर्षसम्मका उमेर समूहका वृद्ध वृद्धाहरुमध्ये कतिपय सक्षम पनि देखिनुहुन्छ । उहा“हरुको ज्ञान , सीप , क्षमता , दक्षता तथा योग्यता अनुरुपको अवसर प्रदान गरी उहा“हरुलाई उत्पादनशील कार्यमा अभ्यस्त गराउन सकिएको खण्डमा मानसिक स्वास्थ्यमा पनि सुधार आई ईश्वरद्वारा प्राप्त एउटा जीवन पूर्ण आयुसहित स्वस्थ रुपमा बा“च्न पाउनुहुने निश्चिततालाई पनि नकार्न सकिन्न ।
वास्तवीक अवस्था र आवश्यकता :
सडकका किनाराहरुमा अलपत्र अवस्थामा देखिनुभएका आमा बुवाहरु नियमीत रुपमा विभिन्न समस्याले प्रताडित भईरहनुभएको प्रत्यक्ष दृश्य हामी देख्न सक्छौं र एउटा सह्दयी मानिसले त्यस पीडालाई महशुश पनि गर्न सक्छ । आखिर हामी सबै मानव नै त हौं । मानसिक विक्षिप्तताको कारणले उहा“हरुले जो कोहीलाई विश्वास पनि गर्नुहुन्न । त्यसकारण उहा“हरुको लागी मनोसामाजिक परामर्शको आवश्यकता पनि देखिन्छ । कतिपय आश्रयस्थल तथा आश्रम भवनहरु तीन चार तल्लाका हुनाले उहा“हरुलाई तलमाथि गर्न कठिनाई हुन्छ । उहा“हरुको समग्र अवस्थालाई मध्यनजर गर्दा भुईंतल्ले भवन भएका आश्रयस्थलहरु सर्वथा उपयुक्त देखिन्छ । त्यसैगरी घरवारविहीन युवा वर्ग समुह र वृद्धावस्थाका आमाबुवाहरुलाई एकै स्थानमा राख्दा सामञ्जस्यता नहुने हुनाले यो व्यवस्था पनि त्यत्ति सान्दर्भिक देखिंदैन ।
समग्रमा अलपत्र अवस्थामा रहनुभएका आमाबुवाहरुको लागी सहयोगी मानवीय धारणालाई आत्मसात गर्दै सहयोगका लागी अघि बढने हातहरुको खा“चो रहेको छ भन्दा फरक नपर्ला ।
