पाँचमहिनादेखि काठेसाँचामा राम उप्रेती, उपचारको लागि पहल गर्दै दुर्गानाथ

पाँच महिनादेखि काठेसाँचोमा बाधिँएका मानसिक विरामीको उपचारको लागि नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल पहलमा जुटेका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका २ फलाटेस्थित डाँडागाउँका ३० वर्षिय मानसिक विरामी राम उप्रेतीको उपचारको लागि पहलमा जुटेका हुन ।

उनको घरको भित्तापट्टी गाडिएको खाँबोमा पाँच महिनादेखि काठेसाँचोले हात बन्द गरेर राखिएको छ । मानसिक सन्तुलन गुमेकाले पाँच महिनादेखि परिवारले यसरी हात बाँधेर राखेको पाइएको छ । लामो समय काठेसाँचोमा राख्दा स्वास्थ्य विग्रदै गएको छ ।

यसका लागि समाजसेवी दुर्गानाथले आर्थिक संकलन अभियान सुरु गरिसकेका छन् । उनका अनुसार स्थानीय महिला आयोगकी सदस्य माननीय कृष्णकुमारी खतिवडाले उपचारका लागि पहल गरिदिन आग्रह गरेपछी दुर्गानाथले अभियान थालेका हुन ।

गाउँपालिका र स्थानीय संस्थाको सहयोगमा बिरामी काठमाडौं ल्याउने तयारी गरिएको दुर्गानाथले बताए । उनका अनुसार काठमाडौं आएपछि उपचार खर्च नवजीवन परोपकार समाजले अभियान मार्फत गर्नेछ ।

अभियान अन्तर्गत अहिले केही मनकारी समाजसेवीहरुले आर्थिक सहयोग समेत गरेको दुर्गानाथले बताए । उनको उपचारका लागि आर्थिक सहयोग गर्नको लागि फोन नम्बर ९८५१०५९८९२ मा सम्पर्क गर्न दाहालले आग्रह गरेका छन् ।

दुर्गानाथले लामो समयदेखि नवजीवन परोपकार समाजमार्फत सहाराविहीन मानवको उद्धार र व्यवस्थापन गर्दै आएका छन् । तारकेश्वर फुटुङ ७ स्थित आश्रममा हाल ३० जना वृद्धवद्धाको परिवारलाई उनले सेवा गर्दै आएका छन् ।

उप्रेतिको घरमा उनका घरमा श्रीमती र एक छोरी पनि छिन् । वृद्ध आमा पनि छिन् ।