काठमाडौं । तारकेश्वर नगरपालिका फुटुङस्थित नवजीवन परोपकार समाजका वृद्धवृद्धाले लगाएका सयपत्री फुल ढकमक्क फुलेका छन् । तिहार लक्षित रोपिएका फुलले यतिबेला नवजीवनको सुन्दरता नै बढाइदिएको छ ।
हाल तिहार लक्षित गर्दै फुल टिप्ने काम भइरहेको नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए । आश्रममा वृद्धवृद्धा, बालबालिका गरि करिब ३० जनाको परिवार बस्दै आएको छ ।
फुलखेतीबाटै हरेक वर्ष लाखौँ कमाइ हुने गरेको समेत अध्यक्ष दाहालले बताए । “हरेक वर्ष फुलखेतीबाट लाखौँ आम्दानी गर्दै आएका छौँ । यो आम्दानी आश्रमका वृद्धवृद्धाको लवाइखवाइमा खर्च गर्छौ,” उनले भने, “आश्रमलाई आत्मानिर्भर बनाउन फुलखेतीले महत्वपुर्ण योगदान पुर्याउदै आएको छ ।”
फुलहरु टिपेर विक्री वितरणका लागि बजारमा लैजाने तयारी भइरहेको दाहालले बताए । नवजीवनले फुलबाटमात्रै गतवर्ष करिब तीन लाख रुपैयाँ आम्दानी गरेको थियो ।

