६०–७० वर्षका वृद्धवृद्धा आमाबुवाले नवजीवनमा फक्राएका फूल


काठमाडौं । आज विहान ७ बजे ७० वर्षिया सन्त चित्रकार बारीमा फूल टिप्दै भेटिए । आफैले फक्राएका फूल टिप्दा दंग थिए । ‘‘फूल रोपेको अस्ति भरखर जस्तो लाग्छ । कतिछिटै ढकमक्क फुलिसके । तिहार पनि लाग्यो,” चित्रकार सुनाउँदै थिए ।
नवजीवन परोकार समाजमा बस्ने वृद्धवृद्धाहरुले सामुहिक रुपमा गरेको फूलखेतिको शब्दचित्र हो यो । यतिबेला नवजीवनको बारीभरी ढकमक्क भएका छन मखमली र सयपत्री फूल । अहिले आफूहरुले फुलाएका फूल टिप्न व्यस्त छन ती वृद्धवृद्धाहरु ।


तारकेश्वर नगरपालिका ७ फुटुङस्थित नवजीवनको आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुले केही महिना पहिले थाइल्याण्डबाट मगाइएको फूलको बिउ रोपेका थिए । ‘‘करिब तीन रोपनी जग्गामा फूल रोपेका थियौँ । थाइल्याण्डबाट मगाइएको लोकल जातको फूल हो । वृद्धावृद्धाहरुले अर्गानिक गाईको मलको प्रयोग गरी उत्पादन गरिएको हो,” नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले भने ।
आश्रममा करिब ३० जनाको परिवार बस्दै आएको छ । ‘‘अहिले फूल लगाइएको बारी पहिले बाँझो थियो । वृद्धवृद्धाहरुले फूल खेती गर्न थालेको तीन वर्ष भयो । तीन वर्षदेखि बाँझो बारीमा ढकमक्क फूल फुलाउन थालेका छौँ,” ७० वर्षीय चित्रकारले फूल टिप्दै भने ।
सन्त चित्रकारले आफू आश्रममा जाँदा आफूसँगै परेवालाई पनि आश्रममै लिएर गएका थिए । चित्रकार भन्छन, ‘‘सानैदेखि परेवा पाल्दै हुर्केको हुँ । आश्रम आउँदा पनि यी परेवालाई छाडिन । योसँगै आश्रममा अरु अरु प्राणीहरु पनि रहेछन । यीनीहरुसँगै रमाउन मन लाग्छ । खेतबारीमा गोडमेल गर्न खेतिसँग रमाउन मन लाग्छ ।”


नवजीवनमा गाई, कुकुर, खरायो, खसि, सुगा, कछुवा, माछा, टर्की पनि पालिएका छन । दुर्गानाथले यी प्राणीहरुलाई विरामी र बेवारिसे अवस्थामा फेला पारेर उद्धार गरेर लिएका हुन ।
सन्त चित्रकार जस्तै अन्य २४ जना वृद्धावृद्धाहरु रहेका छन । बाँझो हुँदा नराम्रो उजाड देखिएको बारी अहिले फूलले झकिझकाउ भएको छ । अध्यक्ष दाहालले वृद्धवृद्धाहरुले दैनिक पानी हाल्दै गोडमेल गर्दै ढकमक्क फूल फुलाएको जानकारी दिए । ‘‘आजभोलि वृद्धवृद्धाहरुलाई फूल टिप्ने चटारो छ । यतिधेरै फूल फुलेको छ । अब फूल बेचेर आएको आम्दानीले आश्रम सञ्चालन तथा वृद्धवृद्धाको पालनपोषणमा खर्र्च गर्नेछन,” दाहालले भने ।


नवजीवनले वृद्धावृद्धाहरुले गरेको फूलखेतिबाट हरेक वर्ष ४ देखि पाँच लाख सम्मको आन्दानी हुँदै आएको दाहालको भनाइ छ । ‘‘वृद्धवद्धाहरु तिर्थयात्रा जाँदा, मठमन्दिरमा घुम्न जाँदा लगायतको काममा फूलको आम्दानी प्रयोग गरिनेछ,” दाहालले भने ।
आश्रमकी सक्रिय सदस्य शान्ति तिवारीले अब वृद्धवृद्धाले टिपेका फूल बिक्रिवितरणका लागि बजारसम्म लैजाने जानकारी दिइन । ‘‘तिहारको बेलामा बारीभरी फूल फुलाइएको छ । फूलबाट आम्दानी केही हदसम्म आश्रम सञ्चालन गर्न मद्धत पुग्छ । आफैले रोपेका फूल अहिले आफैले टिप्न पाउँदा वृद्धवृद्धाहरु दंग छन,” उनले भनिन ।
यतिमात्रै होइन वृद्धवृद्धाहरुले फूल फुल्ने बारीमा तरकारी र फलफूल खेति पनि गर्दै आएका छन । नवजीवन परोपकार समाजले सहाराबिहीन मानव, अन्य प्राणीहरुलाई पनि सहारा दिदै आएको छ ।