कक्षा ६ का विद्यार्थीले पढ्न पाउने भए समाजसेवी दुर्गानाथको जीवनी

सामान्य मानिसहरु आफ्ना लागि मात्र बाँचेका हुन्छन् भने महान मानिसहरु दुखि, असहाय, अनाथहरुका लागि बाँच्छन । महान व्यक्क्तिहरु आफ्नो परिवारका लागि धन सम्पति आर्जन गर्नेबारे सोच्दैनन । उनीहरु दुखेका, अभावले डसेका, समस्याका पहाडहरुलाई छिचोल्न सहयोग गर्छन् । रोग, भोक, अशिक्षा र घृणाले दुखेका घाउहरुमा मलम लगाइदिन सहयोग गर्छन् । यस्तै दिनदुखि मानिस मात्र नभएर सम्पुर्ण प्राणीहरुका सहारा हुन दुर्गानाथ दाहाल ।


दुर्गानाथ दाहाल काभ्रेका नाला उग्रचण्डीमा पिता दिनानाथ दाहाल र माता जानुका दाहालका ६ छोरी पछिका सन्तान हुन । उनका पिता दिनानाथ साच्चै दिननाथ थिए । गाउँमा वा बाटाघाटामा भेटिएका माग्नेहरुलाई खाना खुवाएर सकेजति अन्न अनाज दिएर पठाउथे । गाउँमा पाटी पौवा बनाउने र त्यसको संरक्षण कार्य पनि आफै गर्दथे । भएको एक मात्र छोराले समाजसेवा गरोस भन्ने ध्येयले उनका पिता ११ वर्षकै उमेरमा तत्कालिन रेडक्रसको अध्यक्ष हेलेन शाह मार्फत आजीवन सदस्यता दिलाएका थिए । पढाइमा भन्दा व्यापारमा निकै रुचि भएका दुर्गानाथले माध्यमिक तहको अध्ययन पछि गाउँमै पुष्तक, पत्रिकाको व्यापार आरम्भ गरेका थिए । केही वर्षपछि काठमाडौं बौद्धमा कपडा पसलमा आफ्नो व्यवसाय स्थान्तरण र रुपान्तरण गरे । उनको व्यापार निकै फस्टायो । काठमाडौं उपत्यकामा नै उनका तीन ओटा पसलहरु भए । उनले हंङ्कङ्, चीन, थाइल्याण्डबाट कपडाहरु ल्याएर बेच्न थाले । व्यापारबाट भएको आम्दानीले केही प्रतिशत उनले सडकका असहाय माग्नेहरु, घरबारबिहीनहरुलाई खाना खुवाउन सडकमा छाडिएका गाईगोरु, रोगी कुकुरका उपचारका लागि खर्च गर्दथे ।

उनले २०७२ सालको महाविनाशाकारी भुकम्पबाट प्रताडित घरबारबिहीन हुनुपरेका तथा रोजगारी बिहीन बन्नुपरेका नागरिकहरुलाई केही महिना निशुल्क भोजन गराए । कोरोना महामारीले विश्व आतंक बनाएका बेला पनि रोजगारी गुमाएका सयौँ नागरिकको निशुल्क भोजनको व्यवस्था गरे । उनी अहिंसावादी अभियन्ता पनि हुन । मानवका सृष्टि भगवानले हिंसाका लागि होइन । विश्व प्राणीको कल्याणका लागि निमित्त वुद्धि विवेक दिएर गएका हुन । त्यसैले हामी मानव जातिले हिंसा गर्नु हुँदैन । प्राणीको सेवा र कल्याण गर्नुपर्छ भन्ने दुर्गानाथ दाहालको भनाइ छ । यस्तै आदर्शले प्ररित भएर उनले मन्दिरमा बली दिन तयार पारिएका कैयौँ बोका राँगा कुखुराहरुलाई पैसा तिरेर बचाएका छन् । उनले चीन भ्रमणमा जाँदा बाटामा बेच्न राखिएका माछा किनेर जीव संरक्षण गर्नुपर्छ भनेर समुन्द्रमा लगेर ती माछाहरु छाडिदिएका थिए । २०७२ सालमा भुँइचालो आएपछि धेरै क्षेत्रमा असर परेको थियो । काठमडौं रानीपोखरीमा पनि भित्ताहरु भत्किएका थिए । बीचमा बालगोपालेश्वर मन्दिर पनि भत्किएको थियो । रानीपोखरी पुननिर्माण हुँदा त्यहाँका २८ हजार माछा ठेकेदारले मार्दै थिए । पानी मोटरले तानेर बाहिर फालेपछि पोखरीमा माछा छटपटाइरहेका थिए । त्यतिबेला उनलाई त्यो दृश्यले घायल बनायो । ठेकेदारलाई उनले भने, ‘‘पानी ल्याएर म रानीपोखरीमा भर्छु पैसा मै खर्च गर्छु यी माछाहरुलाई नमारौँ भने । ठेकेदारले नमानेपछि दुर्गानाथ दाहालले पशुअधिकारकर्मीहरुका साथमा काठमाडौं महानगरपालिका घेराउ गरे । रानीपोखरीका माछा मार्न पाइदैन । माछाहरुको संरक्षण गरेर मात्रै पुननिर्माणको काम गर्नुपर्छ भनेर माग राखे । उनको नेतृत्वमा भएको आन्दोलनले २८ हजार माछाको ज्यान जोगियो । सैनिक, प्रहरी, अभियानकर्ताहरुको सहभागितामा रानीपोखरीका माछा कमलपोखरीमा स्थान्तरण गरियो । यसरी मृत्युको मुखमा पुगेका माछाहरुको जीवन सुरक्षित भयो ।


उनले सडकमा छोडेका गाई, मानसिक सन्तुलन गुमेका आमाबुवाहरु बालबालिकाहरुलाई सडकबाटै टिपेर सयौँलाई अस्पताल पु¥याएका छन् । मानसिक सन्तुलन गुमाएर घरबाट हराएकाहरुलाई उपचार गरिदिएपछि परिवारमा पुनर्मिलन गराइदिएका छन् ।
उनको जीवनको महत्वपुर्ण पक्ष भनेकै प्राणीहरुको सेवा हो । सडकमा मोटरले हानेका गाई गोरु, कुकुरहरुलाई उनी सकेसम्म आफै उपचार गर्छन । नसके पशु अस्पतालसम्म पु¥याउछन् र उपचार गरेर कसैको घरको भए घरमै फिर्ता गरिदिन्छन । बेवारिसे छन भने आफैले पालेर राख्छन् ।


घरबारबिहीन मानिसहरु सडकमा बसेका रोगी, असहाय, बेसहारा बाबाआमा, बालबालिकाहरुलाई पनि संरक्षण गर्नका लागि नवजीवन परोपकार समाज दर्ता गराएका छन् । काठमाडौं जिल्लास्थित फुटुङ निवासी समाजसेवी सज्जनले उनको परोपकारी देव कर्म देखेर नवजीवन परोपकार आश्रमलाई पाँच रोपनी जग्गा दान दिएका छन् । हाल उक्त जग्गा बेसहाराहरुको सहारास्थल भएको छ । रोगी मान्छे, गाई, गोरु, कुकुर, चरा आदिको अस्पताल जस्तै भएको छ । जहाँ अहिले पनि सहाराहीन आमाबुवा बस्नुहुन्छ । अनाथ बालबालिका ढुक्कले अभिभावक पाए सबै बस्छन् । अनाथ गाई, कुकुर, चराचुङ्गी आश्रम पाएँ भनेर रमाउछन् । यी सबैका आधार छन् दुर्गानाथ दाहाल ।