काठमाडौं- विश्व महामारीका रूपमा रहेको कोभिड-१९ले देश पूर्ण रूपमा थलिएको छ। अत्यावश्यक बाहेकका सेवा ठप्पछन्।
तर, यस्तो विषम परिस्थितिमा पनि काठमाडौंको नर्भिक अस्पतालले भने उत्कृष्ट कार्यको उदाहरण पेश गरेको छ।
अस्पतालले काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङमा रहेको नवजीवन परोपकारमा बस्दै आएका वृद्धको निशुल्क उपचार गरिदिएका हो।
प्यारालाइसिसका कारण समस्यामा परेका शिव गौतमलाईं अस्पतालले निशुल्क उपचार गरिदिएको छ। लामो समय यता सामाजिक कर्ममासमेत सक्रिय अस्पतालकी सञ्चालिका मेघा चौधरीको विशेष सहयोगमा उपचार सम्भव भएको हो।
नवजीवन परोपकारका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार हाल विरामी वृद्ध गौतमको अवस्था सुधारउन्मुख छ। विगत केही महिना देखि विरामी गौतम नवजीवन आश्रममै आश्रित थिए।
लकडाउनले देशनै थलिएर अस्पतालमा पनि अत्यावश्यक सेवा मात्र प्रदान भइरहेका बेला नर्भिक अस्पतालले विरामी वृद्धको निशुल्क उपचार गरेर उनको र संस्थाका लागि ठूलो सहयोग पर्याएकोमा संस्थाका अध्यक्ष दाहालले खुसी व्यक्त गरे।
लामो समययता सामाजिक कार्यमा सक्रिय संस्थामा हाल १५ जना असक्त, वृद्ध तथा मनोरोगीहरू आश्रित छन्।
त्यसैगरि संस्थाले लकडाउनका बेला सडक, सार्वजनिक अस्पताल तथा समस्यामा परेका तीन सय बढि मानिसहरूलाई निशुल्क भोजनको व्यवस्था गरिरहेको छ। यस भोजन व्यवस्थापनका लागि पनि नर्भिक अस्पतालका तर्फबाट सञ्चालक चौधरीद्वारा रु ५० हजार सहयोग समेत संस्थाकालागि हास्तान्तरण भएको छ।
